Premier Cables
Premier Steel

अपराध विराटनगर

मोरङबाट राष्ट्रिय जनावर गाईको संगठित तस्करी: मोरङको ‘छलगाछी’ नाका प्रयोग हुँदै

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, पुष ०४, २०८२  | साँझ ६:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ जिल्लाको रतुवामाई नगरपालिका–३ स्थित छलगाछी नाका पछिल्लो समय राष्ट्रिय जनावर गाई तथा गोरुको संगठित तस्करीको केन्द्र बन्दै गएको तथ्यहरू सार्वजनिक भएका छन्।

स्थानीय स्रोत, प्रत्यक्षदर्शी र संकलित सूचनाका आधारमा यहाँबाट दैनिक दर्जनौँ गाडीमार्फत करोडौँ रुपैयाँ बराबरका गाईगोरु भारत तस्करी भइरहेको खुलासा भएको छ।

बिज्ञापन

स्रोतका अनुसार उदयपुर, सुनसरी र मोरङका विभिन्न स्थानबाट बुढा, रोगी तथा नेपालमा प्रयोग गर्न नमिल्ने गाईगोरुहरू संकलन गरिन्छ।

ती गाईगोरुहरूलाई साँझपख र मध्यरातमा छलगाछी नाकामा ल्याई भारतीय सीमातर्फ पार गरिन्छ।

स्थानीयवासीहरूका अनुसार दैनिक ४० देखि ५० वटा सवारीसाधन यही नाकाबाट भारत प्रवेश गर्ने गरेका छन्।

भारतमा गाईगोरुको हटिया हप्तामा तीन दिन लाग्ने गर्छ। तर, नेपाली भूमिबाट दैनिक रूपमा तस्करी भइरहँदा पनि सुरक्षा निकायको उपस्थिति नदेखिनु गम्भीर प्रश्नको विषय बनेको छ। अनुमान अनुसार यही नाकाबाट दैनिक एक करोड रुपैयाँभन्दा बढी मूल्यका गाईगोरु भारत पुर्‍याइने गरेको छ।

स्थानीय स्रोतका अनुसार छलगाछी क्षेत्रका ‘शाह’ थर गरेका एक व्यक्ति गाईगोरु तस्करीको मुख्य नाइकेका रूपमा परिचालित छन्। उनका मान्छेहरूले संकलन, ढुवानी र सीमापार व्यवस्थापनको जिम्मेवारी लिने गरेको बताइन्छ। यद्यपि, प्रहरी प्रशासनले अहिलेसम्म न त सो विषयमा अनुसन्धान थालेको छ, न त सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको छ।

स्थानीयवासीहरूले यसअघि पनि पटक–पटक गाईगोरु तस्करीविरुद्ध आवाज उठाउँदै आएका छन्। खुला रूपमा राष्ट्रिय जनावर तस्करी भइरहेको विषयमा मौखिक गुनासो र सार्वजनिक विरोध हुँदा पनि सम्बन्धित निकायको चासो नदेखिएको स्थानीयको आरोप छ।

राष्ट्रिय जनावर, धार्मिक रूपमा पूजनीय गाईको यस्तो खुला तस्करी भइरहँदा पनि प्रहरी प्रशासन मौन रहनु संयोग मात्र हो वा संरक्षण? भन्ने प्रश्न उठ्न थालेको छ। तस्करीजस्तो संगठित अपराध बिना स्थानीय तह, प्रहरी र अन्य निकायको जानकारी सम्भव नहुने स्थानीयको बुझाइ छ।

नेपालको संविधान र कानुनले गाईलाई राष्ट्रिय जनावरका रूपमा संरक्षण गरेको छ। तर, छलगाछी नाकाबाट भइरहेको गाईगोरु तस्करीले राज्यको संरक्षण प्रणालीमाथि नै प्रश्न उठाएको छ। धार्मिक आस्थामाथि प्रहार र संगठित अपराध दुवै रूपमा यस घटनालाई हेरिनुपर्ने स्थानीय बुद्धिजीवीहरूको भनाइ छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka