काठमाडौं । गायिका नितु पौडेल र संगीतकार बाबुल गिरी (धनबहादुर) झण्डै ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ ।
अनामनगरस्थित स्टुडियोमा केही दिनअघि आत्मदाह प्रयास गरेकी नितुको शुक्रबार उपचारको क्रममा मृत्यु भएको छ ।
बाबुलको स्टुडियोको तलपट्टी नितुको डुर्बिना क्याफे छ । चिया पसल चलाउनेदेखि उनले संगीत करिअरलाई पनि अघि बढाउँदै आएकी थिइन् । उनीहरूको प्रेम सम्बन्धबारे पछिल्लो समय संगीत क्षेत्रका अधिकांश जानकारजस्तै थिए ।
सुरुमा सुरुमा नितुको प्रेममा बाबुल मोहितजस्तै थिए । नितुसँगको एकोहोरो प्रेममा बाबुल परेको र उनलाई पछ्याउने गरेको निकट स्रोत बताउँछन् । केही समयपछि यी दुईजनाको दुईतर्फी प्रेम मौलायो र नितुले पनि बाबुललाई प्रेम गर्न थालिन् ।
अनामनगर सामुदायिक प्रहरीको पछाडि पट्टी डेरा लिएर बस्दै आएकी नितु र बाबुलको सम्बन्ध निकै घनिष्ट थियो । स्रोतका अनुसार, उनी नितुको कोठामा बस्ने, आउनेजाने पनि गर्थे ।
सांगीतिक सहकार्य पनि गरे । धेरै चर्चित नभएपनि लो–प्रोफाइलमा रहेर नितुले एक दशकभन्दा लामो समयदेखि सांगीतिक करिअरलाई अघि बढाइन् । ‘उनी राम्रो गाउने मिहेनती गायिका हुन्’ स्रोतले भन्यो ।
केही वर्षयता विवाहलाई लिएर दुईजनाबीच खटपट चल्न थालेको थियो । बाबुलसँगको गहिरो प्रेममा परेकी नितुलाई परिवारले अमेरिका–अस्ट्रेलिया बस्ने केटासँग विवाहको प्रस्ताव पनि ल्याए । तर, नितुले बाबुलसँग बाहेक अरुसँग विवाह नगर्ने अडान लिइन् ।
उमेरले ३० वर्ष पुग्न लागेकी नितुलाई परिवारले विवाहको लागि दबाब दिन थालेपछि उनले बाबुललाई चाँडो विवाह गर्न दबाब दिइरहेकी थिइन् । स्रोतका अनुसार ७–८ महिनायता बाबुलले विवाह टार्दै आएका थिए । ६ महिनायता त उनीहरूबीच विवाहलाई लिएर झगडा हुँदै आएको थियो ।
विवाहलाई लिएर दिनहुँ झगडा हुन थालेपछि बाबुलले नितुसँग विवाह नगर्ने सम्म बताउन थालेको स्रोत बताउँछ । ‘त्यसपछिका महिनामा नितुमा डिप्रेसनको समस्या देखिन थाल्यो । टोलाउने, एकोहोरिने देखिनुभएको थियो’ स्रोत भन्छ, ‘आत्मदाह गर्नुहोला भनेर हामीले सोचेका पनि थिएनौं ।’
मुख्यतः विवाहको लागि नितुले दबाब दिएर र त्यसलाई बाबुलले टार्ने प्रयास हुँदा झगडा निम्तिएको देखिन्छ । बाबुल पछिल्लो समयका चर्चित संगीतकार तथा पाश्र्वगायक हुन् । गायिका पौडेलको एक साताको उपचारपछि आज शुक्रबार मृत्यु भएको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा बिहान साढे ८ बजेतिर गायिका पौडेललाई चिकित्सकले मृत घोषित गरे । १ कात्तिकमा स्टुडियोमा गएर शरीरमा पेट्रोल छर्केर गायिका पौडेलले आत्मदाहको प्रयास गरेको बताइन्छ ।
यता, गायिका नितु पौडेलको मृत्यु भएपछि उनका दाइ गणेश पौडेलले बाबुल विरुद्ध आत्महत्या दुरूत्साहनको जाहेरी प्रहरी वृत्त सिंहदरबारमा दिएका छन् ।
