विराटनगर । मोरङको सीमा क्षेत्रमा ठूलो परिमाणमा भारतीय रुपैयाँ बरामद भएको छ । सशस्त्र प्रहरीले रातिको समयमा गरेको जाँचका क्रममा २० लाख भारतीय रुपैयाँ फेला पारेको हो ।
रतुवामाई नगरपालिका–२ घररुचोकस्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म बरडंगा र बोर्डर आउट पोस्ट (बीओपी) डोरियाको संयुक्त टोलीले उक्त रकम बरामद गरेको हो ।
प्रहरीका अनुसार ५ सय दरका नोटका ४० बन्डल गरी कुल २० लाख भारतीय रुपैयाँ फेला परेको छ । भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूलाई शंका लागेर जाँच गर्दा रकम भेटिएको सशस्त्र प्रहरीले जनाएको छ ।
जाँचका क्रममा मोटरसाइकलको पछाडि सवार व्यक्तिले बोकेको झोला छोडेर फरार भएका थिए । उक्त व्यक्तिको पहिचान खुल्न सकेको छैन ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बरामद गरिएको रकम आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको छ ।
