विराटनगर । सिटिजन्स बैंक इन्टरनेशनलको विराटनगरस्थित कंचनबारी शाखाबाट करिब ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएको घटनामा पाँच जना कर्मचारीमाथि कारबाही गरिएको छ।
बैंकले शाखाकी तत्कालीन अपरेसन इन्चार्ज रोजी कँडेललाई सेवाबाट बर्खास्त गरेको छ। बैंकले उनीविरुद्ध बैंकिङ कसुरमा जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरीसमेत दर्ता गराएको छ।
घटनामा संलग्नता रहेको आशंका तथा पदअनुसारको जिम्मेवारी पूरा नगरेको भन्दै बैंकले अन्य चार कर्मचारीलाई निलम्बन गरेको छ। निलम्बनमा पर्नेहरूमा शाखाका अभिषेक अग्रवाल, सहायक प्रबन्धक जोसेफ आचार्य, कर्मचारी सोनिका राउत र विकास श्रेष्ठ रहेका छन्।
बैंकको आन्तरिक छानबिनका क्रममा कर्मचारीहरूले आफ्नै युजर आइडी प्रयोग गरेर कीर्ते कारोबार गरेको देखिएको छ। छानबिन प्रतिवेदनअनुसार शाखा प्रबन्धक अभिषेक अग्रवालको ४७२, जोसेफ आचार्यको ९३२, रोजी कँडेलको २२७४ र सोनिका राउतको ८७ नम्बरको युजर आइडी प्रयोग गरी रकम निकालिएको पाइएको छ।
रोजी कँडेलविरुद्ध उजुरी परेपछि मोरङ प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको छ। मोरङका प्रहरी प्रमुख एसपी कवित कट्वालका अनुसार बैंकले उपलब्ध गराएको अडिट प्रतिवेदन अध्ययन भइरहेको छ र दोषी देखिएका सबैमाथि कानुनी प्रक्रिया अघि बढाइनेछ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलका अनुसार घटनाबारे करिब दुई महिनाअघि नै केन्द्रीय कार्यालयबाट टोली खटाएर छानबिन गरिएको थियो।
मुख्य आरोपित रोजी कँडेलले सुरुमा रकम फिर्ता गर्ने बताएका भए पनि हालसम्म रकम फिर्ता नगरेको बैंक स्रोतले जनाएको छ।
