Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा सिटिजन्स बैंकको शाखामा ५ करोड रुपैयाँ हिनामिना गर्ने ५ कर्मचारी को-को हुन् ?

Hamro Biratnagar News Channel Calendar सोमबार, चैत्र ०२, २०८२  | साँझ ५:३३ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगर–३ स्थित राजवंशी चोकमा रहेको सिटिजन्स बैंकको शाखाबाट करिब ५ करोड रुपैयाँ हिनामिना भएको तथ्य बाहिर आएको छ।

बैंकका केही कर्मचारीहरूको मिलेमतोमा ४ करोड ९१ लाख रुपैयाँ बराबरको अनियमितता भएको प्रारम्भिक छानबिनबाट खुलेपछि पाँच जना कर्मचारीलाई अनुसन्धानको दायरामा ल्याइएको छ।

बिज्ञापन

बैंकले गरेको आन्तरिक लेखापरीक्षणका क्रममा ठूलो रकमको हिनामिना भएको पत्ता लागेपछि संलग्न कर्मचारीहरूलाई निलम्बन गरिएको छ। साथै घटनाबारे कानुनी प्रक्रिया अघि बढाउँदै बैंकले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएको जनाएको छ।

हिनामिना भएको रकम असुलउपर गर्ने र दोषीमाथि कारबाही गर्ने उद्देश्यले प्रहरीमा जाहेरी दर्ता गरिएको बैंक स्रोतले जनाएको छ।

कसरी गरिन्थ्यो हिनामिना?
बैंक स्रोतका अनुसार कर्मचारीहरूले निक्षेपकर्ताले मुद्दती निक्षेप (फिक्स डिपोजिट) मा राखेको रकमलाई धितो देखाएर नक्कली कर्जा फाइल तयार पार्ने र त्यसैका आधारमा रकम निकाल्ने गरेको पाइएको छ। करिब दुई महिनाअघि आन्तरिक छानबिन सुरु भएपछि यो अनियमितता बाहिर आएको बताइएको छ।

बैंकले हिनामिनामा संलग्न सबै कर्मचारीको नाम सार्वजनिक नगरे पनि मुख्य आरोपीका रूपमा विराटनगर निवासी रोजी कणेलको नाम खुलेको छ। उनीसहित पाँचै जना कर्मचारीलाई निलम्बन गरी थप अनुसन्धानका लागि उनीहरूको विवरण प्रहरीलाई बुझाइएको बैंकले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कट्वालले बैंकबाट हिनामिनासम्बन्धी निवेदन प्राप्त भएको पुष्टि गर्दै घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिए। उनका अनुसार अनुसन्धानका क्रममा थप तथ्यहरू सार्वजनिक हुँदै जानेछन्।

यता सिटिजन्स बैंकका गुनासो व्यवस्थापन अधिकारी रोशन मानन्धरले बैंकको रकम हिनामिना भएको स्वीकार गर्दै दोषीमाथि कडा कारबाहीका साथै रकम असुलीका लागि कानुनी प्रक्रिया अघि बढाइएको बताए। उनले आन्तरिक छानबिनबाट कैफियत देखिएपछि प्रहरीमा लिखित उजुरी दिइएको र विस्तृत तथ्य अनुसन्धानपछि स्पष्ट हुने बताए।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka