काठमाडौं । बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या देखिन थालेपछि नेपाल आयल निगम ले प्रतिसिलिन्डर आधा परिमाण मात्र वितरण गर्ने निर्णय गरेको छ। निगमले शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि प्रतिसिलिन्डर ७.१ केजी एलपी ग्यास मात्रै वितरण गर्ने व्यवस्था लागू गर्ने जनाएको छ।
निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट का अनुसार आधा सिलिन्डर ग्यासको मूल्य ९५५ रुपैयाँ निर्धारण गरिएको छ, जुन हाल कायम रहेको मूल्यको आधा हो। सीमित आपूर्ति धेरै उपभोक्तासम्म पुर्याउने उद्देश्यले यस्तो व्यवस्था गरिएको उनले बताए।
उनका अनुसार पहिले एकैपटक पूरा सिलिन्डर वितरण हुँदा सीमित संख्याका उपभोक्ताले मात्र ग्यास पाउँथे। अब आधा सिलिन्डर वितरण गर्दा सोही परिमाणको ग्यासबाट करिब दोब्बर उपभोक्ताले सेवा लिन सक्ने अपेक्षा गरिएको छ। यसले आवश्यकताभन्दा बढी ग्यास भण्डारण गर्ने प्रवृत्ति पनि कम हुने निगमको विश्वास छ।
पछिल्ला केही महिनादेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा ग्यास अभावको समस्या देखिँदै आएको छ। बिहीबारदेखि नै उपत्यकाका विभिन्न ठाउँ, विशेषगरी बालाजु औद्योगिक क्षेत्र आसपास ग्यास लिन उपभोक्ताको लामो लाइन देखिन थालेको छ।
निगमले बजारमा ग्यास अभाव नभएको दाबी गर्दै आएको भए पनि माग बढ्नु र केही उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास भण्डारण गर्ने प्रवृत्तिका कारण वितरणमा दबाब परेको जनाएको छ।
यसबीच अन्तर्राष्ट्रिय स्तरमा बढ्दो तनावले पेट्रोलियम पदार्थको आपूर्तिमा पनि असर पार्ने संकेत देखिएको छ। संयुक्त राज्य अमेरिका र इजरायल ले संयुक्त रूपमा इरान माथि आक्रमण बढाएपछि तेल ढुवानीको प्रमुख मार्ग होर्मुज जलडमरू मा अवरोधको जोखिम बढेको अन्तर्राष्ट्रिय समाचारहरूमा उल्लेख गरिएको छ।
नेपालले पेट्रोलियम पदार्थ भारत मार्फत आयात गर्दै आएको छ। नेपाल आयल निगमले भारत सरकारको स्वामित्वमा रहेको इन्डियन आयल कर्पोरेसन बाट पेट्रोल, डिजेल र एलपी ग्यास आयात गर्छ। भारतले प्रयोग गर्ने एलपी ग्यासको ठूलो हिस्सा साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र कतार बाट आयात हुने भएकाले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा समस्या आए त्यसको प्रभाव नेपालमा पनि पर्ने देखिएको छ।
