विराटनगर । विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा परेर राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मृत्यु भएको छ।
विराटनगर महानगरपालिका–५ का २७ वर्षीय थापा बिहीबार बिहानको राति दुर्घटनामा परेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए।
उनका अनुसार विराटनगर–४ को भित्री सडक खण्डमा एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो।
बिहान करिब पौने १ बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
थापा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै नौ वर्षभन्दा बढी समयदेखि राष्ट्रिय क्रिकेट खेल्दै आएका थिए। ब्याट्सम्यान रहेका उनले केही फ्रेन्चाइज लिगहरूमा समेत सहभागिता जनाइसकेको परिवारले बताएको छ।
राष्ट्रिय खेलाडीको असामयिक निधनले परिवार, आफन्त तथा क्रिकेट समर्थकहरू शोकमा छन्। परिवारका अनुसार थापाका बुवा करिब डेढ दशकदेखि बेपत्ता छन्। उनी आमा तनुजा थापा र भाइ प्रदीप थापासँगै बस्दै आएका थिए।
प्रहरीले घटनाको अनुसन्धानका लागि मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ।

Oplus_16908288
