इटहरी । नेपाली संगीतप्रेमीका लागि प्रतिक्षित लोकप्रिय नेपाली ब्याण्ड नेपथ्य आगामी कार्तिक १८ गते इटहरी रङ्गशालामा भव्य सांगीतिक प्रस्तुतिका लागि आउने भएको छ।
पूर्वाञ्चल इभेन्ट्स प्रा.लि.को आयोजनामा हुन लागेको कार्यक्रममा नेपथ्यले पहिलोपटक इटहरीमा आफ्नो विशेष प्रस्तुति दिने तयारी गरेको हो। कार्यक्रमलाई लिएर आयोजकले तयारी तीव्र पारेका छन्।
कार्यक्रमको तयारीस्वरूप इटहरी–४, आइतबारेस्थित दुर्गा पार्टी प्यालेसमा सचिवालय सञ्चालनमा ल्याइएको छ भने टिकटको प्रि–बुकिङसमेत सुरु भइसकेको आयोजकले जनाएको छ।
विद्यार्थीका लागि विशेष छुट
कार्यक्रममा विद्यार्थीलाई लक्षित गर्दै आयोजकले विशेष टिकट अफर ल्याएको छ। नियमित टिकट मूल्य रु. १,५०० तोकिए पनि हाल विद्यार्थी तथा अर्ली बर्ड अफरअन्तर्गत रु. १,००० मै टिकट उपलब्ध गराइएको आयोजकले जनाएको छ।
दुर्गा पार्टी प्यालेसका प्रबन्धक तथा आयोजक राजकुमार कार्कीका अनुसार विद्यार्थी र अर्ली बर्डका लागि ल्याइएको यो विशेष अफर सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ।
“नियमित टिकट मूल्य रु. १,५०० तोकेका छौं। तर विद्यार्थी र अर्ली बर्ड अफरअन्तर्गत अहिले रु. १,००० मै टिकट उपलब्ध गराइरहेका छौं। यो अफर केही दिनका लागि मात्र रहनेछ,” कार्कीले भने ।
आयोजकका अनुसार कार्यक्रमको प्रचारप्रसार, टिकट बिक्री तथा व्यवस्थापनको कामलाई तीव्र रूपमा अघि बढाइएको छ ।
सुनसरी जिल्ला नेपथ्यका ठूलो संख्यामा प्रशंसक रहेको क्षेत्रका रूपमा परिचित छ। त्यसैले इटहरीमा आयोजना हुन लागेको यो सांगीतिक कार्यक्रमलाई लिएर दर्शकमा उत्साह बढ्ने आयोजकको अपेक्षा छ।
कार्यक्रममा नेपालका विभिन्न स्थानबाट मात्र नभई छिमेकी भारतको सिक्किम र दार्जिलिङबाट समेत दर्शक आउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
अमृत गुरुङको नेतृत्वमा रहेको नेपथ्य नेपाली संगीत क्षेत्रमा लामो समयदेखि लोकप्रिय रहेको ब्याण्ड हो। नेपालमा मात्र नभई विश्वका विभिन्न देशमा रहेका नेपालीमाझ समेत नेपथ्यको विशेष लोकप्रियता रहँदै आएको छ।
इटहरी रङ्गशालामा कार्तिक १८ गते हुने यो कार्यक्रमले इटहरीमा ठूलो सांगीतिक माहोल सिर्जना गर्ने अपेक्षा गरिएको छ।
टिकटको माग बढ्दै गएकाले आयोजकले अर्ली बर्ड तथा विद्यार्थीका लागि उपलब्ध विशेष टिकट सीमित रहेको जनाएको छ। इच्छुक दर्शकले टिकट तथा कार्यक्रमसम्बन्धी थप जानकारी नेपथ्यको आधिकारिक वेबसाइट www.nepathya.com.np मार्फत प्राप्त गर्न सक्नेछन्।
आयोजकले टिकट सकिनुअघि नै बुकिङ गर्न समेत दर्शकलाई आग्रह गरेको छ।

