Premier Cables
Premier Steel

राष्ट्रिय

कोशीका धेरै कांग्रेस प्रतिनिधि विशेष महाधिवेशनमा भाग लिन काठमाडौ पुगे

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, पुष २५, २०८२  | अपराह्न १:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसले पुस २७ र २८ गतेका लागि तय गरेको विशेष महाधिवेशनले कोशी प्रदेशको राजनीतिमा उल्लेखनीय हलचल ल्याएको छ।

पार्टीको संस्थापन र इतर समूहबीच शक्ति सन्तुलनको संघर्ष चर्किंदै जाँदा कोशीका १४ वटै जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं केन्द्रित हुन थालेका छन्।

बिज्ञापन

कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागोका अनुसार प्रदेशबाट कुल ७२८ महाधिवेशन प्रतिनिधि रहेका छन्। तीमध्ये बिहीबार अबेरसम्म करिब २७० जना काठमाडौं पुगिसकेका छन् भने ५९ जना बाटोमै रहेका छन्। मोरङ, झापा, सुनसरी र पहाडी जिल्लाहरूमा गगन थापा–विश्वप्रकाश शर्मा समूहको प्रभाव बलियो देखिँदा संस्थापन पक्ष दबाबमा परेको छ।

डा. शेखर कोइरालाको गृह जिल्ला मोरङमा १५९ प्रतिनिधिमध्ये १०४ जनाले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरिसकेका छन्। यसअघि कृष्णप्रसाद सिटौला पक्षमा मजबुत रूपमा देखिएका खड्ग फागो अहिले विशेष महाधिवेशनको अभियानमा प्रदेशस्तरमै अग्रणी भूमिकामा उभिएका छन्। झापामा पनि करिब ५१ प्रतिशत प्रतिनिधिहरू विशेष महाधिवेशनका लागि काठमाडौं जाने तयारीमा छन्। प्रतिनिधिहरूलाई रोक्न प्रयास भइरहे पनि महाधिवेशन पक्षधर नेता इन्द्र बुढाथोकीले हस्ताक्षर गर्नेहरू काठमाडौं पुगेरै छाड्ने दाबी गरेका छन्।

यद्यपि, सिटौला निकट नेता गोपाल तामाङले पार्टी फुट्ने हल्लाले केही प्रतिनिधिमा अन्योल सिर्जना भएको बताए पनि ५० प्रतिशतभन्दा बढी प्रतिनिधि विशेष महाधिवेशनकै पक्षमा रहेको स्वीकार गरेका छन्।

सुनसरीमा पनि विशेष महाधिवेशनको उत्साह कम छैन। क्षेत्र नम्बर १ को क्षेत्रीय समितिले नै विशेष महाधिवेशनमा सहभागी हुने औपचारिक निर्णय गरिसकेको छ। यहाँका १२५ प्रतिनिधिमध्ये कम्तीमा ४५ जना जाने निश्चित भइसकेको छ। पहाडी जिल्ला तेह्रथुममा गगन थापा पक्षको स्पष्ट बहुमत देखिएको छ, जहाँ २६ मध्ये २१ जना प्रतिनिधि विशेष महाधिवेशनको समर्थनमा छन्। धनकुटामा पनि २६ मध्ये १७ जनाले हस्ताक्षर गरिसकेका छन् र उनीहरू आफ्नो अडानमा कायम छन्। यी जिल्लाहरूले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि महामन्त्री थापाको एकल नाम सिफारिस गरेर राजनीतिक धार स्पष्ट गरिसकेका छन्।

उदयपुरमा भने स्थिति झनै रोचक देखिएको छ। जिल्ला सभापति हिमाल कार्कीका अनुसार ४१ जना प्रतिनिधि गगन–विश्वप्रकाश समूहमा खुलेका छन् र संस्थापन पक्ष शून्यप्रायः बनेको छ। यद्यपि, कांग्रेस नेता रामकुमार खत्रीले करिब ५० प्रतिशत प्रतिनिधि मात्र विशेष महाधिवेशनमा जान सक्ने अनुमान गरेका छन्।

इलाम, पाँचथर, ताप्लेजुङ र सोलुखुम्बुमा पनि ठूलो संख्यामा प्रतिनिधिहरू विशेष महाधिवेशनको पक्षमा उभिएका छन्। पाँचथरका प्रतिनिधि पूर्ण तुम्बाफोले अमेरिकाबाटै इमेलमार्फत् समर्थन जनाएका छन्। भोजपुरमा १७ जना प्रतिनिधि खुला रूपमा गगन थापाको पक्षमा देखिएका छन्, जसमा जिल्ला सभापति विनोद राई अग्रपंक्तिमा छन्।

तर, यो लहरप्रति संस्थापन र शेखर समूहका केही नेताहरूले संशय व्यक्त गरेका छन्। शेखर समूहका नेता शमशेर राईले पार्टी सुधार र छिटो महाधिवेशनका लागि हस्ताक्षर गरिएको भए पनि पार्टी विभाजनको अवस्था आए सहभागी नहुने स्पष्ट पारे। त्यस्तै, संस्थापन पक्षका नेता तथा कोशी प्रदेशका उपसभापति रमेशजंग रायमाझीले मरेका वा पार्टी छाडेका व्यक्तिको नाम प्रयोग गरी संख्या बढाइएको दाबी गर्दै स्वयम् प्रतिनिधि उपस्थित नभएसम्म यकिन गर्न नसकिने बताए। अर्का नेता बसन्त बस्नेतले विशेष महाधिवेशनलाई ‘महामन्त्रीहरूको भेला’ मात्र भएको टिप्पणी गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka