विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा संचालन भईरहेको विराट एक्स्पोमा बुधबार ‘स्टार्ट अप नीति,सरकारको सहयोग र सामाजिक प्रभाव’ बारे छलफल भएको छ ।
संघका अध्यक्ष अनुपम राठीको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा समाजमा प्रभाव पार्ने आईडियाहरुको विषयमा समेत छलफल भएको छ ।
सेसन उद्घाटन गर्दै संघका अध्यक्ष राठीले खासगरी युवा र उद्यमी बन्न चाहनेहरुको लागि लक्ष्य गरेर आयोजना गरिएको बताए । उनले भने,‘‘उद्यमशीलता बढाउन प्रेरित गर्ने उद्देश्यसाथ आयोजना गरिएको हो ।’’
बुधबार ६ वटा स्टार्ट अप आईडिया पिच प्रस्तुत गरियो । यसमा जुरीहरु कोशी प्रदेश सरकारका आर्थिक सल्लाहकार मोहन सुवेदी, पूर्वाञ्चल विश्व विद्यालय व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठ, अर्थशास्त्री डा. पिके झा, डिजिटल गुर्खाका सिईओ क्षितिज चन्द्र ओझा रहेका थिए ।
स्टार्ट अप नीतिबारे डिजिटल गुर्खाका सिईओ क्षितिजचन्द्र ओझाले आजको आवश्यकता के हो पूँजी हो कि, सीप हो भन्दै व्यवस्थित इकोसिस्टम महत्वपूर्ण हुने बताए । आजको आवश्यकता आत्मविश्वास जागरण हुनुपर्ने विषय भएको भन्दै उनले चुनौतीलाई चिरेर नेपालमा पनि केही हुनसक्छ भन्ने भाव हुनुपर्नेमा जोड दिए ।
नीति बनाइँदा व्यावसायिक र व्यवसायको सुरक्षा प्रमुख हुने भन्दै उनले भने,‘‘हाम्रो इकोसिस्टममा हामीले कसरी पैसा कमाउने भनेर सिकाउन सकिएन छ । धनी बन्नुपर्छ है, पैसा कमाउनु पर्छ है भन्ने जानकारी नयाँ पुस्तालाई दिन आवश्यक छ । सानै उमेरदेखि पैसा के भनेको के हो, ब्याज भनेको के हो ? भन्ने सिकाउन जरुरी छ ।’’ उनले स्टार्ट अफ फन्डिङलाई बीउ पूँजीको रुपमा लिनुपर्ने र थप बाटोहरु आफै बनाउनु पर्ने सुझाव दिए ।
भने,‘‘नयाँ स्टार्ट अप व्यवसायीले समस्यालाई टिपोट गर्ने बानी बसाउनु पर्छ त्यसले निदानमा सहयोग गर्छ । अनिमात्र परिणाम राम्रो आउँछ ।’’
मोरङका आईडिएटर स्वास्थ्य प्रविधिबारे कुलदीप मण्डलले आफ्नो प्रस्तुति दिए । ग्रिन इनोभेसन अन्तर्गत झापाका रोहित भण्डारीले मल उत्पादनको सम्भावनाबारे,मोरङका फुड एन्ड बेभरेजमा अञ्जन श्रेष्ठ, सुनसरीका आयुष आचार्यले इको बाइट नाम आडिया पिच गरे ।
टेक्नोलोजी शीर्षकमा सुनसरीका जीवन कुमार कुसवाहाले प्रस्तुति दिए । यसैगरी झापा दमकका विष्णु पोखरेलले केराको दाम्चाबाट कागज र पूजा सामग्री उत्पादनको मोडालिटी पेश गरे ।
