विराटनगर । विस्फोटक पदार्थ निर्माणमा प्रयोग हुने पोटासियम नाइट्रेट बिक्री गरेको आरोपमा विराटनगर भन्सार कार्यालयका भन्सार एजेन्ट प्रतिनिधि कुन्दन मण्डल पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय धरानको आग्रहमा इलाका प्रहरी कार्यालय रानी, विराटनगरले मण्डललाई विराटनगर महानगरपालिका–१५ स्थित उनकै घरबाट पक्राउ गरेको हो। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक प्रविण घिमिरेले जानकारी दिए।
इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक भिषणबाबु राईका अनुसार विस्फोटक पदार्थ निर्माणमा प्रयोग हुने पोटासियम नाइट्रेट बिक्री वितरण गरेको आरोपमा मण्डललाई पक्राउ गरिएको हो।
प्रहरी नायब उपरीक्षक राईले पोटासियम नाइट्रेट नेपालमा प्रतिबन्धित रहेको दाबी गर्दै मण्डलले निर्बाध रूपमा यसको बिक्री वितरण गर्दै आएको प्रमाणका आधारमा पक्राउ गरिएको बताए।
यस प्रकरणमा पोटासियम नाइट्रेटको अवैध कारोबारमा संलग्न अन्य व्यक्ति तथा गिरोहसम्म पुग्ने उद्देश्यले अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका मण्डलमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
