विराटनगर | कोशी प्रदेश प्रहरीले गत आर्थिक वर्ष २०८२/८३ मा २७ हजार ६९३ किलो गाँजा बरामद गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ९८८ किलो बढी हो।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १० हजार ४२० किलो र २०८१/८२ मा २६ हजार ७०५ किलो गाँजा बरामद भएको थियो।
प्रहरीले गत आर्थिक वर्ष २०८२/८३ मा १४५ ग्राम १४० मिलिग्राम चरेश बरामद गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा ८६ ग्राम १८० मिलिग्राम र २०८१/८२ मा चरेश बरामदसम्बन्धी तथ्यांक कार्यालयले जनाएको छ।
अफिमतर्फ आर्थिक वर्ष २०८२/८३ मा तीन ग्राम ५८८ मिलिग्राम तथा आर्थिक वर्ष २०८१/८२ मा १५ ग्राम ५८८ मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ।
त्यस्तै, गत आर्थिक वर्षमा १० किलो ३८७ ग्राम ५३१ मिलिग्राम ब्राउन सुगर बरामद भएको छ। आर्थिक वर्ष २०८०/८१ मा तीन किलो ८८९ ग्राम ३४९ मिलिग्राम र २०८१/८२ मा पाँच किलो ४८९ ग्राम ८९८ मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो।
कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार गत आर्थिक वर्षमा विभिन्न प्रकारका मनोद्वीपक चक्की सात लाख ४४ हजार ४५७ थान बरामद भएका छन्। आर्थिक वर्ष २०८०/८१ मा ७८ हजार ३३८ थान र २०८१/८२ मा छ लाख १५ हजार ७९ थान मनोद्वीपक चक्की बरामद भएका थिए।
त्यसैगरी, गत आर्थिक वर्षमा २० हजार ४९ थान मनोद्वीपक सुई बरामद भएको प्रहरीले जनाएको छ। आर्थिक वर्ष २०८०/८१ मा सात हजार ५८७ थान र २०८१/८२ मा दुई हजार ६५४ थान यस्ता सुई बरामद भएका थिए।
मनोद्वीपक औषधितर्फ गत आर्थिक वर्षमा ४० थान, आर्थिक वर्ष २०८०/८१ मा ३३६ थान र २०८१/८२ मा १०९ थान बरामद गरी कारबाही अघि बढाइएको कार्यालयले जनाएको छ।
प्रहरीले कोशी प्रदेशका विभिन्न जिल्लामा एक हजार ३९४ रोपनी क्षेत्रफलमा लगाइएको दुई लाख ६४ हजार ८३० वटा गाँजाका बिरुवा पनि नष्ट गरेको जनाएको छ।
यस्तै, गत आर्थिक वर्षमा हातहतियारसम्बन्धी ३२ वटा मुद्दा दर्ता गरी ४५ जनालाई पक्राउ गरिएको छ। ती मुद्दामा ५५ थान हतियार बरामद भएको प्रवक्ता थापाले जानकारी दिनुभयो।
आर्थिक वर्ष २०८०/८१ मा हातहतियारसम्बन्धी ३० वटा मुद्दा दर्ता हुँदा ४३ जना पक्राउ परेका थिए भने ४४ थान हतियार बरामद भएको थियो। आर्थिक वर्ष २०८१/८२ मा ३८ वटा मुद्दा दर्ता गरी ५५ जना पक्राउ परेका थिए भने ५० थान हतियार बरामद भएको प्रहरीले जनाएको छ।
