विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१८ भेडियारीमा लागूऔषध गाँजासहित भारतीय नम्बर प्लेटको मोटरसाइकल रोकेर जाँच गर्न खोज्दा चालक फरार हुने क्रममा पोखरीमा डुबेर बेपत्ता भएका छन्। बेपत्ता भएका व्यक्तिको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी सन्तोष श्रेष्ठका अनुसार बुधबार बिहान करिब ८ः५० बजे अस्थायी प्रहरी पोस्ट भेडियारीबाट असई ब्रह्मदेव यादवको नेतृत्वमा खटिएको टोलीले बीआर ५० एएल ३६८७ नम्बरको भारतीय मोटरसाइकललाई रोक्न खोजेको थियो। मोटरसाइकलमा दुई जना सवार थिए। प्रहरीलाई देख्नासाथ चालक मोटरसाइकल छाडेर भागेका थिए।
प्रारम्भिक अनुसन्धानअनुसार फरार हुने क्रममा विराटनगर–१८ निवासी मञ्जितकुमार यादव स्थानीय भेडियारी पोखरीमा डुबेर बेपत्ता भएका हुन्। उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
घटनापछि बेपत्ता भएका यादवको खोजीमा ढिलाइ भएको भन्दै उनका परिवारका सदस्य र स्थानीयवासीले केही समय आईसीपी गेट अगाडि प्रदर्शन गरेका थिए। त्यसपछि सशस्त्र प्रहरीको खोजी टोली घटनास्थलमा पुगेपछि अवस्था केही समय सामान्य बनेको थियो। तर, पोखरीमा खोजी गर्दा पनि यादव फेला नपरेपछि परिवार र प्रहरीबीच केही समय तनावको अवस्था सिर्जना भएको थियो। सुरक्षाकर्मी र स्थानीय अगुवाको पहलपछि स्थिति पुनः सामान्य बनेको छ।
प्रहरीका अनुसार बुधबार साँझसम्म खोजी कार्य जारी रहनेछ। यदि आज फेला नपरेमा बिहीबार बिहानदेखि गोताखोरको टोली परिचालन गरेर थप खोजी गरिनेछ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कविता कटवालले खोजी कार्यमा सबैलाई सहयोग गर्न आग्रह गर्दै बेपत्ता भएका व्यक्ति पौडी खेलेर भारतीय सीमातर्फ समेत गएको हुन सक्ने सम्भावनालाई पनि नकार्न नसकिने बताए। घटनास्थलबाट भारतीय सीमा करिब एक मिटरको दूरीमा रहेको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रवीण घिमिरे तथा सशस्त्र प्रहरी बलको बीओपी जहदा–भुटाहाका इन्स्पेक्टर तारानाथ गौतमको नेतृत्वमा संयुक्त सुरक्षा टोली परिचालित छ। टोलीले बेपत्ता व्यक्तिको खोजी गर्नुका साथै घटनास्थलमा उपस्थित आफन्तलाई सम्झाइबुझाइ गर्ने कामसमेत गरिरहेको छ।
यसैबीच मोटरसाइकलको पछाडि सवार रहेका भारतको सुपौल जिल्ला, गनौरा पञ्चायत–५ निवासी ४१ वर्षीय शिवधर यादवलाई प्रहरीले पक्राउ गरेको छ। उनले बोकेको झोला जाँच गर्दा लुकाइछिपाइ राखिएको ६ किलो १३० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा, भारतीय नम्बर प्लेटको मोटरसाइकल र पक्राउ परेका शिवधर यादवलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको डीएसपी श्रेष्ठले जानकारी दिए।


