काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’को अन्तिम खेलमा नेदरल्याण्ड्सले ट्युनिसियालाई ३–१ ले पराजित गर्दै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। लगातार प्रभावशाली प्रदर्शन गरेको नेदरल्याण्ड्सले सात अंकसहित शीर्ष स्थान सुरक्षित गरेको हो।
खेलको तेस्रो मिनेटमै ट्युनिसियाका एलिस स्किरीबाट आत्मघाती गोल भएपछि नेदरल्याण्ड्सले अग्रता लिएको थियो। त्यसको चार मिनेटपछि ब्रायन बबीले गोल थप्दै टोलीलाई २–० को सहज अवस्थामा पुर्याए।
ट्युनिसियाका हाजेम मस्त्यौरीले एक गोल फर्काएर खेलमा फर्कने प्रयास गरे पनि ६३औँ मिनेटमा जोन पाउल भानले गोल गर्दै नेदरल्याण्ड्सको जित सुनिश्चित गरे।
समूह चरणमा नेदरल्याण्ड्सले पहिलो खेलमा जापानसँग बराबरी खेलेको थियो भने दोस्रो खेलमा स्वीडेनलाई ५–१ ले पराजित गरेको थियो। ट्युनिसियामाथिको जितसँगै टोलीले कुल सात अंक जोड्दै समूहको शीर्ष स्थान हासिल गर्यो।
यता, समूहको अर्को खेलमा जापान र स्वीडेनले १–१ को बराबरी खेले। जापानका लागि ५५औँ मिनेटमा डेजिन मेदाले गोल गरेका थिए भने स्वीडेनका एन्थोनी एलेग्नाले ६१औँ मिनेटमा बराबरी गोल फर्काए।
जापानले समूह चरणमा ट्युनिसियालाई ४–० ले हराएको थियो भने नेदरल्याण्ड्ससँग बराबरी खेलेको थियो। स्वीडेनले पहिलो खेलमा ट्युनिसियालाई ५–१ ले पराजित गरे पनि नेदरल्याण्ड्ससँग समान अन्तरले हार बेहोरेको थियो।
अन्तिम अंक तालिकाअनुसार नेदरल्याण्ड्स सात अंकसहित पहिलो, जापान दोस्रो र स्वीडेन तेस्रो स्थानमा रहे। तीनै खेलमा पराजित भएको ट्युनिसिया भने कुनै अंक जोड्न नसकी विश्वकपबाट बाहिरिएको छ।


