फायल फोटो
झापा । झापामा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या केही दिनयता बढेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार पछिल्लो २५ दिनमा जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन् । यही माघ १ गतेदेखि माघ २५ गतेभित्रका अवधिमा दुर्घटनामा ती व्यक्तिले ज्यान गुमाएका हुन् ।
अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ खोलामा आइतबार भएको ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु भएको छ ।
बिरिङ खोलाबाट बालुवा लोड गरी अगाडि बढ्ने क्रममा प्र १–०१–००१ त ९०१० नं को ट्याक्टरको डालामा सवार सोही ट्याक्टरका सहचालक अर्जुनधारा–३ निवासी हर्क श्रेष्ठका १६ वर्षीय छोरा सरोज श्रेष्ठ ट्याक्टरबाट खस्दा पछाडिको चक्काले किचेको थियो ।
यसैबीच, तीन दिनअघि स्कुटीको ठक्करबाट घाइते भएका अर्जुनधारा–३ निवासी ४५ वर्षीय राजन बाँस्कोटाको उपचारका क्रममा आइतबार नै मृत्यु भएको छ ।
बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचाररत बाँस्कोटाको आइतबार मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।
माघ २१ गते बिहान अर्जुनधारा–३ गरुवा चोकस्थित बिर्तामोड–खुदुनाबारी सडकखण्डमा बिर्तामोडबाट खुदुनाबारीतर्फ जाँदै गरेको प्र १–०१–०१८ प १६७ नम्बरको स्कुटीले बाटो काट्दै गरेका पैदलयात्री बाँस्कोटालाई ठक्कर दिएको थियो ।
स्कुटी चालक इलाम माई नगरपालिका–३ निवासी ३५ वर्षीया अमृता राई र स्कुटी प्रहरी नियन्त्रणमा रहेका छन् । यसअघि माघ २१ गते दमकमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको थियो । माघ १ गते एकैदिन तीन जनाको ज्यान गएको थियो भने त्यसयता जिल्लामा प्राय: दिनहुँजसो सवारी दुर्घटनाबाट मानवीय क्षति भइरहेको छ ।
