Premier Cables
Premier Steel

अर्थ विराटनगर

महिला उद्यमशीलता बढाउन सीपसँगै सहज ऋण प्रवाहमा जोड

Calendar बिहिबार, पुष १०, २०८२  | साँझ ४:०६ बजे

विराटनगर । विराट एक्स्पोको अवसरमा “महिला उद्यमशीलता आजको आवश्यकता” विषयक थिमेटिक सेसन सम्पन्न भएको छ । मोरङ उद्योग व्यापार संघको आयोजनामा एक्स्पो अवधिभर हरेक दिन फरक–फरक समसामयिक विषयमा छलफल कार्यक्रम राखिएको छ ।

बिहीबार दोस्रो शत्रमा महिला उद्यमशीलताका विविध आयामबारे छलफल भएको छ । छलफलमा रत्ना होटलकी संचालक जीना थापा, महिला उद्यमी गिरिजा शारडा, नबिल बैंक विराटनगर शाखाकी प्रबन्धक जुनु आले तथा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव उद्धव प्रसाद रिजाल सहभागी थिए । छलफलको सहजीकरण पत्रकार सुशीला पाठकले गरेकी थिइन् ।

बिज्ञापन

उद्यमी थापाले महिलाको आत्मविश्वास नै ठूलो चुनौती भएको भन्दै यो सामाजिक संरचनासँग पनि गहिरो रूपमा जोडिएको बताइन् । उनले भनिन्, “यो समाजमा महिलाको कन्फिडेन्स लेभल एकदमै कम छ । अदृश्य रूपमा धेरै चुनौती फेस गरिरहेका हुन्छन् । पुरुषप्रधान सोचकै कारण महिलाले काम गर्छु भन्दा घरभित्रैबाट विश्वास नपाउने अवस्था छ ।”

उनका अनुसार महिलाका लागि सरकारी नीति अझै पर्याप्त सहज छैन । “महिला उद्यमीलाई कोलाटरल बिना १५ लाखसम्म ऋण दिने व्यवस्था छ, तर पेपरवर्क र जानकारीको अभावले धेरै महिला पछि पर्छन्,” उनले भनिन्, “यदि सुरुका केही वर्ष ईएमआई स्थगित गरी ब्याज मात्र लिने व्यवस्था गरियो भने महिलालाई धेरै राहत मिल्छ ।” हस्पिटालिटी क्षेत्रमा विद्युत् शुल्क, कर र अपरेटिङ लागत उच्च रहेको उल्लेख गर्दै उनले महिलाले सञ्चालन गर्ने व्यवसायमा कर सहुलियत आवश्यक रहेकोमा जोड दिइन् ।

महिला उद्यमी गिरिजा शारडाले महिलाले दोहोरो जिम्मेवारी बोकेर उद्यम गर्नुपर्ने बाध्यता रहेको बताउँदै उद्यमशील यात्रामा लैंगिक पूर्वाग्रह ठूलो अवरोध बनेको बताइन् । “महिलाले दुई थर बोकेर, दोहोरो जिम्मेवारी लिएर काम गर्नुपर्छ,” उनले भनिन्, “बैंक ऋण लिन जाँदा अझै पनि बाबु, ससुरा वा श्रीमानको सहमति खोजिन्छ । यहाँ स्पष्ट जेन्डर बायस देखिन्छ ।”

उनले साना व्यवसायका लागि महिलाले ऋण पाउन कठिन हुने यथार्थ औंल्याउँदै भनिन्, “क्याफे वा सानो उद्यमका लागि ऋण लिन गाह्रो छ, तर सिमेन्ट वा केबलजस्ता ठूला क्षेत्रमा सजिलै लोन पाइन्छ ।” सीप विकाससँगै बजार पहुँच अनिवार्य भएको उल्लेख गर्दै उनले भनिन्, “सीप सिकाएपछि बजारसँग नजोडे समस्या उस्तै रहन्छ । महिला उद्यमीका उत्पादन बिक्री हुने सहज प्लेटफर्म बनाइनु पर्छ ।”

कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव उद्धव प्रसाद रिजालले महिला उद्यमशीलता बहुआयामिक विषय भएको बताउँदै नीति भन्दा व्यवहारमा समस्या रहेको बताए । “नीतिगत रूपमा ठूलो समस्या छैन, तर व्यवहारमा कहाँ–कहाँ अड्चन छन् भन्ने पहिचान गर्न आवश्यक छ,” उनले भने ।

बदलिएको परिवेशमा एआई र प्रविधिको तीव्र विकासतर्फ संकेत गर्दै उनले भने, “हामी एआई युगमा प्रवेश गरिसकेका छौं । पाँच वर्षपछि अहिलेका बहसहरू पनि अप्रासंगिक हुन सक्छन् ।

त्यसैले नयाँ ढंगले सोचेर नीति निर्माण गर्नुपर्ने बेला भई सकेको छ । हामीले यसअघि बनाएका नीतिहरु माथि पनि पुर्नविचार गर्नुपर्ने बेला भएको छ । प्रदेश सरकार नीतिगत रुपमा महिला उद्यमलाई सहयोग गर्न तयार छ ।” उनले प्रदेश स्तरमा समेत सीप विकास र उद्यममा महिला सहभागिता बढाउन कामहरु भईरहेको बताए ।

उनले ब्याजरहित पाँच लाख रुपैयाँसम्मको रिभल्भिङ फन्डजस्ता मोडलमा स्थानीय सरकारहरुले काम गरिरहेको उदाहरण दिँदै प्रदेश सरकारले यसमा काम गर्न सक्ने बताए ।

नबिल बैंक विराटनगर शाखाकी प्रबन्धक जुनु आलेले बैंकिङ क्षेत्रमा महिला सहभागिता बढ्दो क्रममा रहेको बताउँदै यो जेन्डरका आधारमा नभई जोखिमका आधारमा प्रभाव हुने स्पष्ट गरिन । हरेक क्षेत्रमा महिला सहभागिता बढ्दै गएको बताउँदै उनले भनिन्,“१५ वर्षअघि बैंकमा महिला स्टाफ २५–३० प्रतिशत थिए, अहिले ४५ प्रतिशत पुगेका छन् ।”

महिला उद्यमीका लागि सहुलियत ऋणको व्यवस्था भए पनि जानकारीको अभाव रहेको उल्लेख गर्दै उनले पूर्ण तयारीसहित आउँदा बैंकले ऋण प्रवाह गर्न समस्या नहुने स्पष्ट गरिन । बैंकले जनताको पैसा लगानी गर्ने भएकाले जोखिम मूल्यांकन अनिवार्य शर्त भएको उनको भनाई थियो ।

भनिन्, “कर्जा जेन्डरका आधारमा होइन, रिस्क प्रोफाइलका आधारमा प्रवाह हुन्छ । धितो भनेको जग्गामात्र होइन, परियोजनाको स्ट्रेन्थ पनि हुन सक्छ ।”

कार्यक्रममा सहभागीले महिलालाई उद्यमी बनाउन सीप विकासका कार्यमा सरकारले समेत काम गर्नुपर्ने र उद्यमशीलता विकासमा सहजीकरण हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रमका संयोजक अनिल शारडाले साना तथा मझौला उद्यममा महिला सहभागिता बढाउन सरकार र निजीक्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।

महिला उद्यमशीलता प्रवर्द्धनका लागि नीति, सामाजिक सोच, वित्तीय पहुँच, सीप विकास र बजार व्यवस्थापनलाई एकसाथ अघि बढाउनुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका थिए ।

‘‘विराट एक्स्पोमा सुरु भएको यस्तो छलफलले महिला उद्यमीका वास्तविक समस्या उजागर गर्नुका साथै समाधानतर्फ सामूहिक सोच निर्माण गर्ने हाम्रो अपेक्षा छ,’’ शारडाले भने ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka