Premier Cables
Premier Steel

मनोरञ्जन

‘बलिदान’ बनाम ‘माइतीघर’: सन्तोष सेन, दीपकराज गिरी र रोहित अधिकारीबीच ‘लफडा’

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र २०, २०८२  | अपराह्न १:१४ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । नेपाली चलचित्र क्षेत्र अहिले दुई बहुप्रतिक्षित फिल्म-‘बलिदान’ र ‘माइतीघर’—को प्रदर्शनभन्दा पनि निर्माताहरूबीचको वाकयुद्ध, आरोप–प्रत्यारोप र विवादका कारण बढी चर्चामा छ।

सन्तोष सेन, दीपकराज गिरी र रोहित अधिकारीबीचको यस ‘डिजिटल लडाइँ’ले सामाजिक सञ्जाललाई रणभूमिमा परिणत गरिदिएको छ। ‘चलचित्र राम्रो भयो भने दर्शक आफैँ हल पुग्छ’ भन्ने सामान्य मान्यता विपरीत अहिले नेपाली चलचित्र बजारमा फन्डा, हल्ला र लफडाको हाबी प्रवृत्ति देखिएको छ।

बिज्ञापन

भर्खरै सार्वजनिक भएका फिल्म ‘पूर्णबहादुरको सारंगी’ जस्ता उदाहरणले देखाएको छ—कथा, निर्देशन, अभिनय र प्राविधिक पक्ष बलियो भयो भने दर्शकलाई आकर्षित गर्न हल्ला र विवाद आवश्यक हुँदैन। तर, हाल नेपाली फिल्मकर्मीहरू “चलचित्र भन्दा विवाद” मा बढी केन्द्रित देखिन्छन्।

‘माइतीघर’, ‘बलिदान’ र ‘हरिबहादुरको जुत्ता’ दशैंको फूलपातीमा प्रदर्शनको तयारीमा छन्। तीनै चलचित्रको प्रमोसन चलिरहँदा दीपकराज गिरी, सन्तोष सेन र रोहित अधिकारीबीचको लफडा चर्चाको शिखरमा पुगेको छ। फेसबुक लाइभ, स्टाटस युद्ध, साइबर ब्युरोमा उजुरीदेखि अडियो लीक र सिसिटिभी फुटेज सार्वजनिक गर्नेसम्मका गतिविधिहरूले यो विवादलाई अझै चर्काइरहेका छन्।

पुरानो रिस, नयाँ विस्फोट

सन्तोष सेन र दीपकराज गिरीबीचको चिसोपन ‘छक्का पन्जा ५’ र ‘१२ गाउँ’ रिलिजका समयदेखि सुरु भएको हो। ‘१२ गाउँ’लाई सन्तोषले खुलेर समर्थन गर्दा पनि ‘छक्का पन्जा ५’ टिमले उनलाई दोषी ठहर गरेको आरोप सार्वजनिक भयो।

सन्तोषले ‘छक्का पन्जा ५’को पोस्टर सेयर गर्दा प्रतिक्रिया नआएपछि हटाएको र दीपकराजले ‘साइबर कमान्डर’ भन्नु अन्याय भएको बताउँदै फेसबुक लाइभमार्फत् जवाफ दिएका थिए।

यो तनाव तीन वर्षअघि ‘प्रेमगीत ३’ प्रदर्शनका बेला पनि देखिएको थियो, जब सन्तोष र प्रदीप खड्काले चलचित्र विकास बोर्डले अनमोल केसीको पक्षमा नीति बनाएको आरोप लगाए। त्यसबेला दीपकराजले सन्तोषलाई आफ्ना ‘साइबर सेना’ सभ्य हुन आग्रह गरेका थिए, र सन्तोषले पनि प्रत्युत्तर दिएका थिए।

‘माइतीघर’ र ‘बलिदान’को भिडन्त

रोहित अधिकारीको ‘माइतीघर’ र सन्तोष सेनको ‘बलिदान’ दशैंमा सँगै प्रदर्शन हुँदैछन्। प्रचारकै सिलसिलामा ‘माइतीघर’को गीतमा केही आलोचना आएपछि रोहितले नकारात्मक टिप्पणी गर्नेहरूका स्क्रिनसट सेयर गर्दै सन्तोषलाई निशाना बनाए।

यही विवादमा दीपकराजले स्टाटस लेख्दै भने-“आफ्नो हिरो बाघ! अरूको हिरो स्याल? याद गरौँ, बाघ पनि जनावर नै हो!” बाघ भन्ने शब्द सन्तोषले समीर भट्टका लागि प्रयोग गर्ने गर्थे।

यसपछि सन्तोषले लामो स्टाटस लेख्दै दीपकराजमाथि नैतिक प्रश्न उठाए र धार्मिक कसम खाएर आफूले कसैलाई गाली गर्न नलगाएको दाबी गरे।

विवाद चुलिँदै जाँदा एक अडियो सार्वजनिक भयो, जसमा दीपकराज, रोहित र निर्मल शर्माबीच ‘सूत्र’ युट्युब च्यानललाई लिएर गरिएको गफ सुनिन्छ। अडियोमा रोहितले च्यानल सञ्चालक केशव खड्कालाई ‘पिट्ने’ संकेत गरेका छन्। यो अडियो बाहिरिएपछि केशव खड्का ज्यान सुरक्षाको माग गर्दै प्रशासन कार्यालय पुगे।

रोहितले साइबर ब्युरोमा सन्तोष र ‘बलिदान’ टिमविरुद्ध उजुरी दिएका छन्। जवाफमा सन्तोष पनि कानुनी बाटो अपनाउने बताइरहेका छन्।


‘लफडा–फन्डा’ले चलचित्र चल्छ त?

फिल्म क्षेत्रका जानकारहरूका अनुसार यस्तो विवादले चलचित्रमा क्षणिक ध्यान त आकर्षित गर्छ, तर दीर्घकालीन फाइदा हुँदैन। यदि चलचित्रको कथा, प्रस्तुति, अभिनय र निर्देशन बलियो छैन भने दर्शक एकपटक त टिकट काट्लान्, तर ‘वर्ड अफ माउथ’ नकारात्मक भयो भने चलचित्र पन्छिन धेरै बेर लाग्दैन।

आजका दर्शक प्रचार होइन, प्रस्तुति हेरेर मूल्य चुकाउन तयार हुन्छन्। उनीहरू फन्डा होइन, कन्टेन्ट खोज्छन्।

नेपाली चलचित्र इतिहासले देखाएको छ-‘कबड्डी’, ‘लूट’, ‘झोला’, ‘छ माया छपक्कै’ जस्ता फिल्म विवादले होइन, कथाले चल्छन्। वर्तमान भिडन्तले चलचित्र क्षेत्रमा व्यक्तिगत अहं, इगो र गुटगत राजनीतिले कति प्रभाव पारिरहेको देखाउँछ।

यदि चलचित्रकर्मीहरूले दर्शकको चासोभन्दा बढी व्यक्तिगत हिसाबकिताब मिलाउन समय खर्चिरहे, दर्शक भने कन्टेन्टको अभावमा हलमा जानै छाड्न सक्छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka