






विराटनगर । त्रिभुवन विमान स्थलको सुरक्षामा खटिएका नेपाल प्रहरीका एक जना डिएसपी गोबिन्द पन्थीले अध्यागमन कार्यालयबाट हुने गतिविधिबारे खुलासा गरेका छन् ।
उनले आफूले निडर भएर काम गर्दा त्यसको उपहार सरुवा भोग्नु परेको सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका हुन । उनको यो खुला पत्रले अहिले तरंग र्सिजना गरिदिएको छ । भिजिट भिषा प्रकरणमा गृहमन्त्रालयको माथिल्लो तहदेखि नै सेटिङ हुने गरेको उनको पत्रले खुलासा गर्छ ।
हेर्नुहोस् डिएसपी पन्थीले लेखेको खुलापत्र
जब मानव बेचबिखन अनुसन्धान ब्युरोको टोली एयर्पोर्टबाट हट्यो त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले आफ्ना गतिविधि अगाडि बढायो । शंकास्पद कागजात मिति २०८० आश्विन १९ गते १६४१ राहदानीसहित उपत्यका अपराध अनुसंधान कार्यालयमा पठाइयो ।त्यस बखत म ८ नम्बर पिलरमा डिएसपीको रुपमा नेतृत्व गर्दै थिएँ । उक्त पिलरले वैदेशिक रोजगार ठगी मुद्दाको अनुसन्धान तथा कारबाही गर्दथ्यो ।
तसर्थ एयर्पोर्टबाट आएका कागजात ३ नम्बर पिलरमा आएँ । उक्त पिलरले ठगी हेर्ने हुँदा स्वभाविक भयो । एक महिनाको अनुसन्धानमा राहदानी आउने अनि जस्को हो उसैलाई फिर्ता दिने कार्य भयो । त्यसबाट अपेक्षित परिणाम नआए पछि तत्काली एसपी रविन्द्र रेग्मी सरले एसएसपी सोमेन्द्र सिंह राठौर सरसँग सल्लाह गरेर उक्त भिजिट भिषा प्रकरण ८ नम्बर पिलरबाट मलाई हेर्न निर्देशन भए पश्चात् मेरो जिम्मेवारी तोकियो ।
तत्पश्चात मेरो नेतृत्वको टोलीले गहिरिएर अनुसन्धान गर्दा सबै नक्कली कागजात तयार गर्ने, काम ल्याउने दलाल, कन्सल्टेन्सी, ट्राभल ब्याबसायी , म्यानपावर, होटल र एयरलाइन्स,अध्यागमन,श्रम विभाग र प्रहरी केही अधिकारीको मिलोमतोमा ठूलो तस्करी संचालित भएको देखिएपछि मैले अनुसन्धान प्रतिवेदन पेश गरेकोमा तत्कालीन कार्यालय प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौर ले कसैलाई नछाडी जरैमा पुग्न जुन साहसिक निर्देशन दिनु भएको थियो ।
तत्पश्चात २० जना दलाल, २० वटा ट्राभल, ८ क्स्न्सल्टेन्सी, नेता र कर्मचारी गरि ३७ जना नियन्त्रणमा लिएर मानव तस्करी, किर्ते र सङठित अपराध मुद्दा चलाइएको थियो । उक्त मुद्दालाई सङ्गठितमा लैजान हामीले सरकारी वकिलसँग नोकझोक नै गर्नु परेको थियो । र मैले अनुसंधान गर्दा मलाई अख्तियारमा १६ पाने भोर्याउने धम्की पनि नदिइएको हैन ।
कुनै कुरालाई परवाह नगरी पत्रकार सम्मेलनबाट आफ्नो तालुक कार्यालय गृह मन्त्रालयका अधिकारिको सङ्लग्नता मानव तस्करी भएको र दैनिक डेढ करोड देखि २ करोड कर्मचारीले लिने गरेको निर्भिकतासाथ तथ्यमा आधारित भएर बोलेको थिए । जुन कुरा व्यावसायिक र निडर हिम्मतिलो कार्यालय प्रमुख सोमेन्द्र सरको कारण बाट सम्भव भएको थियो । पछि अनुसन्धान भएर कतिपय पुर्पक्षका लागि थुनामा समेत गए र कतिपय धरौटीमा छुटे । उक्त फायल अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइएको थियो । दुई वर्ष न भयो बल्ल आशा गरांै अनुसन्धान हुँदै होला ।
धेरै दलाल र ठूला तस्करीमा संलग्न दुबई र भारत गएर बस्नु पर्यो । त्यस्तो स्थिति सिर्जना गरिदिए पछि मेरो सरुवा गराउन ठूलो थैली को जोहो गरेर बुझाएको हल्ला चल्यो । नभन्दै मेरो सरुवा भयो । सरुवा कसरी भयो र किन कार्यालय प्रमुखले भन्दा पनि रोकिएन भनि गोप्य तरिकाले बुझ्दा २–३ दिन अगाडि हटेका गृहमन्त्री नारायण काजी श्रेष्ठले टिपाएको र तत्कालीन आइजीपी बसन्त कुवँरको जोडबलमै भएको बुझिएपछि एसएसपी सोमेन्द्र सरले रोक्न हालका आइजीपी तत्कालीन मेट्रो प्रमुख दिपक थापा सरलाई भन्दा समेत माथिको आदेश भनियो जस्का कारण सरुवा रोकिएन ।
पछि तत्काल गृहमन्त्री फेरबदल पश्चात् मैले गृहमन्त्री रवि लामेछानेलाई एउटा पत्र लेखे जस्को कारण मेरो सरुवा कानुनतः रोकिएन किनकी बदर गर्दा रकम फिर्ता गर्नु पथ्र्यो । तसर्थ मौखिक रुपमा रवाना नगरी त्यहीँ काम गर्न भनियो । मैले लेखेको पत्र पछि सार्वजनिक गर्नेछु ।
तसर्थ साच्चिकै अनुसन्धान गरेर तस्करी नियन्त्रण गर्ने र सुशासन ल्याउने हो भने यो विषयमा अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नु पर्दछ । त्यसो गरियो भने एकाद बाहेक कुनै गृहमन्त्री, श्रममन्त्री र प्रधानमन्त्रीको सचिवालय टिम समेत कानुनी कठघरामा उभिने छ । अहिले सह–सचिव तीर्थ भट्टराईलगायत अख्तियारको अनुसन्धानको दायरमा रहेकोले हिम्मत गर्नु पर्दछ ।
अख्तियार प्रमुख ज्युले इतिहासमा नाम लेखाएर जनताको मनमा बस्ने अवसर आएको छ । यो विषय सुक्ष्म र निष्पक्ष अनुसन्धान हुने हो भने ठूलो उथल पुथल हुने निश्चित छ । अवसरलाई सदुपयोग होस ।