विराटनगर । झापाको क्षेत्र नं ५ मा नेपाली कांग्रेसले आगामी निर्वाचनबारे कस्तो कदम चाल्छ भन्ने जिज्ञासा व्याप्त छ ।
कांग्रेसमा गएको पुषको अन्तीम साता भएको दोश्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ नेतृत्व चयन भएको र सो महाधिवेशन विधानसम्मत रहेको ठहर गर्दै निर्वाचन आयोगले समेत थापा नेतृत्वलाई नै कांग्रेसको आधिकारिकता दिएसँगै झापाको क्षेत्र नं ५ बाट कांग्रेसले कसलाई उम्मेदवार बनाउने हो भन्ने जिज्ञासा बढेको छ ।
यो क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली , काठमाडौंका मेयर तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह समेत उम्मेदवारका रुपमा उत्रिने चर्चा व्यापक छ ।
कांग्रेस झापा क्षेत्र नं ५ का स्थानीय नेताहरु भने ओली र बालेन दुवै उम्मेदवार यस क्षेत्रका लागि अहिले माग नभएका उम्मेदवारका रुपमा लिन्छन् । उनीहरुको बुझाईमा ओलीले यो क्षेत्रबाट पटक पटक नेतृत्व गरेर गएका छन तर समग्रमा उनको लोकप्रियता पछिल्लो समय ह्वात्तै घटेको छ ।
बिकासका एजेण्डाहरुलाई स्वभाविक मान्दै कांग्रेसका स्थानीय नेताहरु जिम्मेवार व्यक्तिले जिम्मेवारी ठाउँमा पुगेपछि बिकासका योजनाहरु प्रकृयागत रुपमा अघि बढ्ने बिषय भएको तर्क गरिरहेका छन् ।
यस क्षेत्रमा नवआगन्तुक उम्मेदवारका रुपमा बालेन आए पनि यहाँको क्षेत्र, भुगोल र यहाँका मतदाताको मनोविज्ञानबारे उनी अनभिज्ञ रहेकाले स्थानीय उम्मेदवारनै आम मतदाताको रोजाईमा पर्ने र युवा पुस्ताबाट उठाइने कांग्रेसका जो कोही उम्मेदवारले मतदाताको मन र मत जित्नेमा उनीहरु आशावादी छन् । कांग्रेस झापा क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारी भन्छन– कांग्रेस विशेष महाधिवेशनबाट रुपान्तरित भएर आएको छ ।
गगन थापाले नेतृत्व लिएपछि कांग्रेसका नयाँ, पुराना सबै कार्यकर्ताहरुमा मात्रै नभएर कांग्रेस इतर वा सामान्य नागरिकहरुमा समेत आशा बढेको छ । त्यसैले कांग्रेस उम्मेदवार जो भए पनि यहाँँबाट चुनाव जित्नु हुनेछ ।
उस्तै बुझाई र तर्क छ कांग्रेस झापा क्षेत्र नं ५ अन्तर्गतको प्रदेश सभा क्षेत्र (ख)का सभापति रवि केसीको पनि ।
सभापति केसी भन्छन– कोही अल्मलिनु पर्दैन कांग्रेसमा गगन युग शुरु भएको छ । यसले नेतृत्वलाई उत्साहित र आम नागरिकलाईनै आशावादी बनाएको छ । कांग्रेसको नयाँ नेतृत्वले देशैभर १६५ वटै क्षेत्रमा उम्मेदवारी दिने निधो गरिसकेकाले झापा ५ मा उम्मेदवारी नदिने भन्ने प्रसंगनै जायन नहुने सभापति केसीले बताए ।
उनले कांग्रेसले यसअघि झापा ५ बाट सिफारिस गरेका तीन उम्मेदवारहरु अइन्द्रविक्रम केरुङ, मेदनी सिटौला वा मन्धरा चिमरिया जसले पनि यहाँ टिकट पाउन सक्ने र जसले पाए पनि चुनाव जित्ने परिस्थितीको आंकलन गरिएको तर्क गरे ।
कांग्रेस झापाका जिल्ला सदस्य एवं नेविसंघ झापाका पुर्व सभापति पर्शुराम रिजाल पनि कांग्रेस हिजोका दिनमा भन्दा बिल्कुल फरक परिस्थितीमा रहेको बताउँदै नयाँ जोश र उत्साहले भरिएका कार्यकर्ताहरु एकताबद्ध भएर कांग्रेसलाई चुनाव जिताई छोड्ने बताउँछन् ।
