फायल फोटो
काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप पेचिलो बन्दै ‘अनुशासनको कारबाही’ र ‘कानुनी लडाइँ’को चरणमा प्रवेश गरेको छ।
पार्टीको संस्थापन र इतर समूहबिचको द्वन्द्व चर्किएका बेला केन्द्रीय अनुशासन समितिले इतर समूहका नेताहरूमाथि कारबाही प्रक्रिया अघि बढाउने सङ्केत दिएको छ।
अनुशासन समितिका संयोजक तारामान गुरुङले इतर समूहका पछिल्ला गतिविधिमाथि कारबाहीको तयारी भइरहेको बताएका छन्।
समितिका अनुसार देउवालाई चुनदेवीस्थित सम्पर्क कार्यालयमा पुर्याउँदा प्रयोग गरिएको नेमप्लेट तथा हालै आयोजित इतर समूहको राष्ट्रिय भेलामा भएका सम्बोधन र विधिविपरीतका गतिविधिलाई मुख्य आधार बनाएर विभिन्न उजुरीहरू परेका छन्। अनुशासन समितिले आगामी वडा अधिवेशनअघि नै परेका उजुरीहरूको छिनोफानो गर्ने जनाएको छ।
यसैबिच, विवाद कानुनी निरुपणको प्रक्रियामा समेत पुगेको छ। पार्टीका शीर्ष नेताहरू अदालतको ढोका ढक्ढक्याउन पुगेका छन् भने संस्थापन पक्षले पार्टी विधान र प्रक्रिया अनुसार नै महाधिवेशनका गतिविधि अगाडि बढाउने र अनुशासन उल्लङ्घन गर्नेमाथि समितिले स्वतन्त्र रूपमा कारबाही गर्न सक्ने अडान राखेको छ।
