झापा, जेनजी आन्दोलनप्रति समर्पित नेपाली चलचित्र ‘बिगुल’ आगामी माघ ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ ।
चलचित्र निर्माण टिमले शुक्रवार विहीवार बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरी चलचित्रको विषयवस्तु, निर्माण प्रक्रिया र प्रदर्शन मितिबारे जानकारी दिएको हो ।
बिर्तामोडस्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा वीरता जेसीज, वीरता लेडी जेसीजसहित जेसीजका राष्ट्रिय तथा स्थानीय शाखाका पदाधिकारीको उपस्थिति रहेको थियो । सो अवसरमा चलचित्रको फस्र्टलुक पोस्टर र ट्रेलर पनि सार्वजनिक गरिएको छ ।
चितवनका दिनेश कोइरालाको कथा तथा निर्माणमा बनेको ‘बिगुल’को निर्देशन रमेश कोइरालाले गरेका हुन् भने कल्पना पौडेल प्रस्तुतकर्ता रहेकी छन् ।
निर्माता तथा लेखक कोइरालाका अनुसार चलचित्रमा उठाइएका विषयवस्तुहरू गत भदौमा जेनजी युवाले गरेको देशव्यापी आन्दोलनसँग उल्लेख्य रूपमा मेल खान्छन् । जे विषयमा केन्द्रित भएर कथा लेखिएको थियो, पछि त्यही मागसहित जेनजी पुस्ता सडकमा उत्रिनु अचम्मको संयोग हो – उनले पत्रकार सम्मेलनमा भने ।
‘बिगुल’मा उठाइएका मूल मुद्दा—देश विकास, परिवर्तनप्रतिको जनचाहना र न्यायका सवाल—जेनजी आन्दोलनका मागसँग ठ्याक्कै मेल खाने उनको भनाइ छ । यही कारण चलचित्रलाई जेन्जी आन्दोलनप्रति समर्पित गरिएको उनले स्पष्ट पारे ।
चलचित्रले युवा र महिलामा चेतना जागृत गर्दै भ्रष्टाचार र विकृति उन्मूलनका लागि परिवर्तनको बिगुल फुक्ने प्रयास गरेको निर्माण पक्षको दाबी छ । निर्देशक रमेश कोइरालाका अनुसार पारिवारिक पृष्ठभूमि, सामाजिक न्याय र राजनीतिक सचेतनाबाट जन्मिएको नयाँ मार्ग, भुइँमान्छेहरूको सपना, संघर्ष र बलिदानीको इतिहासलाई ‘बिगुल’मार्फत पर्दामा उतार्ने प्रयास गरिएको छ । स्वस्थ मनोरञ्जनसँगै सामाजिक परिवर्तनका लागि आवाज बुलन्द गर्ने उद्देश्य चलचित्रले बोकेको उनको भनाइ छ ।
म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको ‘बिगुल’मा बेनिशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मालगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्रको पटकथा तथा संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् । शिव ढकालको छायाङ्कन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनबी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत तथा तारा थापा किम्भेको सम्पादन रहेको छ । सूर्यकान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेका छन् ।
तीन मिनेट पाँच सेकेन्ड लामो सार्वजनिक ट्रेलरमा राजनीति, परिवर्तन र न्यायका लागि उठेको आवाजलाई सशक्त ढंगले प्रस्तुत गरिएको छ । ‘बिगुल’ काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र उपत्यकाबाहिर श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले वितरण गर्नेछन् ।
बिर्तामोडमा आयोजित कार्यक्रममा नेपाल जेसीजका पूर्व अध्यक्ष फूलकुमार लालवानी, सिङ्गापुर वेवरेजका सञ्चालक रमेश शर्मा, नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष रजेन्द्र चम्लगाई, वर्तमान राष्ट्रिय उपाध्यक्ष मिनु ओली, वीरता जेसीजका अध्यक्ष युवराज कुँवर, वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्य लगायतको उपस्थिति रहेको थियो ।
