Premier Cables
Premier Steel

मनोरञ्जन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’लाई के बिराम लागेको हो ?

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक २८, २०८२  | साँझ ४:३७ बजे
Hamro Biratnagar Headlines

काठमाडौँ । कलाकार कुमार कट्टेलले बिहीबार फेसबुकमा लेखे, ‘रातदिन सिंहदरबार धाउने दाइको अहिलेको अवस्था । देश बनाउनु छ भन्ने युवाले पाएको प्रोत्साहन यही हो ।’ उनले यससँगै एक भिडियोसमेत सेयर गरेका छन्, जसमा कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ अस्पतालको बेडमा उपचाररत देखिन्छन्। कुमार सीतारामका भाइ हुन्।

सीतारामको स्वास्थ्य अवस्थाबारे सामाजिक सञ्जालमा व्यापक चासो देखिएको छ। सामुदायिक प्राकृतिक चिकित्सालय, रजहर (नवलपरासी) मा बिहानको उपचार गराइरहेको तस्बिर सेयर गर्दै उनकी श्रीमती तथा कलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ ले पनि लेखेकी छन्, ‘शारीरिक र मानसिक रूपमा अत्यन्तै थकित हुनुहुन्छ । तर तपाईंहरूको माया र आशिर्वादले उहाँ छिट्टै पहिलेको जस्तै सामान्य अवस्थामा फर्किनुहुनेछ भन्ने विश्वास छ।’

बिज्ञापन

क्रिकेट रंगशालादेखि अहिलेको अवस्थासम्म

सीताराम दम्पती २०७२ सालको भूकम्पपछि सामाजिक काममा सक्रिय बने। भूकम्पपीडितका घर निर्माणदेखि राहत वितरणसम्म उनीहरू निरन्तर रूपमा अग्रसर रहे। यही क्रममा उनीहरूले भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको ठूलो योजना अघि सारे। २०७५ माघ १६ मा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित परियोजनाको घोषणा गरिएको थियो।

तर काम सुरु भएपछि सहयोग गर्ने भनिएका पक्ष पछाडि हटे। सरकारी तहबाट समेत अपेक्षित सहयोग नपाएपछि चार वर्षअघि उनीहरूले परियोजना अघि बढाउन नसक्ने घोषणा गरे। त्यसयता सीताराम फाइल बोकेर भरतपुर महानगरदेखि सिंहदरबारसम्म धाउँदै आए, जसले उनलाई गम्भीर मानसिक र शारीरिक दबाबमा पुर्‍याएको परिवारजन बताउँछन्।

भाइ कुमारका अनुसार सीताराम अहिले सामुदायिक प्राकृतिक चिकित्सालयमा उपचाररत छन्। उनलाई नसासम्बन्धी समस्या, एन्जाइटी, प्रेसर र अनिद्रा बढ्दै गएको बताइएको छ।
“दाइ रातभरि पीडाले सुत्न सक्नुहुन्न,” कुमार भन्छन्, “वर्षौंसम्म फाइल बोकेर दौडिरहनु भयो। महानगर मन्त्रालय देखाउँछ, मन्त्रालय महानगर। देशका लागि केही गर्छु भन्ने मानिसलाई सरकारले नै मानसिक रूपमा थिचिरहेको छ।”

चिकित्सालयका व्यवस्थापक हरि सापकोटाका अनुसार पेटसम्बन्धी समस्या र अनिद्राका कारण कात्तिक १२ देखि सीतारामले नियमित उपचार लिइरहेका छन्।

रंगशाला निर्माण र ऋणको बोझ

रंगशाला निर्माणको सुरुवातमा सीतारामलाई राजनीतिक दलका नेतादेखि व्यवसायीहरू समेतले साथ दिने आश्वासन दिएका थिए। तर काम अघि बढेपछि धेरैजना पछि हटे, जसका कारण उधारोमा ल्याइएका सामग्री र निर्माण खर्चको ठूलो ऋणको बोझ उनीमाथि पर्न थाल्यो।

पहिले ‘वाहवाही’ गर्नेहरूले पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालमा आलोचना र गालीगलौज बढाएपछि सीताराम मानसिक रूपमा अझै मारमा परेको परिवारको दाबी छ।

धुर्मुस–सुन्तली फाउन्डेसनले रोकिएको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण भने हाल वाग्मती प्रदेश सरकारमार्फत अघि बढाइने तयारी भएको बताइएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka