काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई–तीन साताभित्र इरानमाथि कडा आक्रमण हुने बताएका छन्।
बुधबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अमेरिका आफ्नो मुख्य सैन्य लक्ष्य नजिक पुगेको दाबी गरे। उनले ३२ दिनको सैन्य कारबाहीमा अमेरिकी सेनाले छोटो समयमै निर्णायक सफलता हासिल गरेको उल्लेख गर्दै इरान अब सुरक्षा खतरा नरहेको बताए।
ट्रम्पले भने, “अबको दुई–तीन साता हामी उनीहरूमाथि निकै कडा प्रहार गर्नेछौं,” साथै उनले इरानलाई कडा रूपमा कमजोर बनाइने चेतावनी पनि दिए।
फेब्रुअरी २८ देखि अमेरिका र इसराइलले इरानमाथि आक्रमण सुरु गरेपछि मध्यपूर्वमा हिंसा चर्किएको छ। यस क्रममा हजारौं मानिसको ज्यान गएको छ भने इरानले इसराइल, अमेरिकी सैन्य अड्डा तथा खाडी क्षेत्रका देशहरूमा प्रतिआक्रमण गरेको छ।
द्वन्द्वका कारण इरानले होरमुज जलडमरूमध्य बन्द गरेको छ, जसले विश्व ऊर्जा आपूर्ति प्रणालीमा असर पारेको छ। यसै कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ भने ट्रम्पको लोकप्रियतामा पनि गिरावट आएको बताइएको छ। अमेरिकाका विभिन्न राज्यहरूमा ट्रम्पविरुद्ध प्रदर्शन भइरहेका छन्।
ट्रम्पको सम्बोधनपछि शेयर बजारमा गिरावट आएको छ भने तेलको मूल्य थप बढेको छ। लगानीकर्ताहरूले द्वन्द्व समाधानका लागि स्पष्ट योजना नदेखिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
यद्यपि, ट्रम्पले अमेरिका उक्त जलमार्गमा निर्भर नभएको दाबी गर्दै सहयोगी राष्ट्रहरूलाई होरमुज जलडमरूमध्य पुनः सञ्चालनका लागि पहल गर्न आग्रह गरेका छन्। पेट्रोलको मूल्य वृद्धिबारे चिन्ता व्यक्त भइरहे पनि उनले यसलाई अस्थायी समस्या भएको बताएका छन्।
ट्रम्पले इरान परमाणु हतियारको नजिक पुगेको दाबी गर्दै अमेरिकी सेनाले पछिल्ला हप्ताहरूमा महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गरे। साथै, इरानी शासनको क्षेत्रीय प्रभाव क्रमशः कमजोर पारिँदै गएको उनले बताए।
यसैबीच, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले यो द्वन्द्वले विश्वभर असमान प्रभाव पार्ने चेतावनी दिएका छन्। प्रभावित देशहरूलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समन्वय आवश्यक रहेको उनीहरूको भनाइ छ।
