Premier Cables
Premier Steel

मनोरञ्जन

गायक प्रशान्त तामाङको आज दार्जिलिङमा अन्तेष्टि गरिँदै

Calendar सोमबार, पुष २८, २०८२  | अपराह्न १२:२७ बजे

काठमाडौं । सन् २००७ मा इन्डियन आइडलको उपाधि जितेर विश्वभरका नेपालीलाई एकताको सूत्रमा बाँध्न सफल गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर आज जन्मथलो दार्जिलिङमा सम्मानपूर्वक अन्त्येष्टि गरिँदैछ।

आइतबार ४२ वर्षको उमेरमा दिल्लीमा हृदयघातका कारण निधन भएका तामाङको शव दिल्लीबाट दार्जिलिङ पुर्‍याएर अन्तिम संस्कार गर्न लागिएको हो। उनको निधनले नेपाली साङ्गीतिक क्षेत्र मात्र होइन, नेपाली र भारतीय अभिनय क्षेत्रलाई समेत अपूरणीय क्षति पुगेको छ।

बिज्ञापन

प्रशान्त करियरको महत्वपूर्ण मोडमा थिए। बलिउड सुपरस्टार सलमान खानको महत्त्वाकांक्षी चलचित्र ‘ब्याटल अफ गलवान’ मा उनले उल्लेखनीय भूमिका निर्वाह गरेका थिए। आगामी वैशाख ४ मा प्रदर्शन हुने तयारीमा रहेको चलचित्रको छायाङ्कन सकाएर दिल्लीमा डबिङको तयारी गरिरहेका बेला उनको असामयिक निधन भएको हो।

यसअघि चर्चित वेब सिरिज ‘पाताल लोक’ मार्फत उनले भारतीय दर्शकमाझ आफ्नो अभिनय क्षमताको प्रभाव छाडिसकेका थिए।

नेपाली चलचित्र ‘हिम्मत–२’ बाट पार्श्व गायन र ‘गोर्खा पल्टन’ बाट अभिनेताका रूपमा यात्रा थालेका प्रशान्तले दर्जनौँ सफल गीत र चलचित्रमा योगदान दिएका छन्। विश्वभरका नेपालीका प्रिय कलाकार भए पनि उनी सरल र विनम्र स्वभावका थिए।

पर्दामा सफल कलाकार रहे पनि निजी जीवनमा उनी समर्पित पिता थिए। कोभिड महामारीका बेला आमालाई गुमाउँदा अन्तिम दर्शन गर्न नपाएको पीडाले उनी परिवारप्रति अझ भावुक बनेका थिए। श्रीमती काममा जाँदा तीन वर्षीया छोरीको हेरचाह गर्न उनले कैयौँ साङ्गीतिक कार्यक्रमसमेत त्याग्ने गरेका थिए।

आज दार्जिलिङमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) को समन्वयमा अन्तिम संस्कार गरिँदै गर्दा, ‘जाउँला रेलैमा’ जस्ता सदाबहार गीत र उनका चलचित्रहरूले प्रशान्तलाई नेपाली मनमा सधैँ जीवित राख्नेछन्। ‘पहिचानको लडाइँ’ उनको अन्तिम नेपाली चलचित्र बन्न पुग्यो, जसमा उनको अभिनयले पुनः दर्शकको मन जितेको थियो। सरल, हँसिला र सहयोगी स्वभावका प्रशान्तको असामयिक निधनले संसारभरका नेपालीभाषी समुदायलाई शोकमा डुबाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka