विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचनालाई ‘सेतो हात्ती’ भन्ने भाष्य गलत भएको बताएका छन्। उनले प्रदेश संरचना संघीयताको महत्त्वपूर्ण पहिचान भएकाले यसको उपलब्धि र कमजोरीको तथ्यमा आधारित समीक्षा गर्नुपर्नेमा जोड दिएका छन्।
विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संघीय सरकारबाट प्रदेशलाई अधिकार हस्तान्तरण गर्न भइरहेको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरे।
प्रदेशका समस्या र अधिकारका विषयमा गुनासो मात्रै गरेर नबस्ने उल्लेख गर्दै उनले सातै प्रदेशका मुख्यमन्त्री एकजुट भएर प्रधानमन्त्रीसँग छलफल गर्न काठमाडौं जाने घोषणा गरे।
मुख्यमन्त्री कार्कीले नेपालमा स्थानीय तह र केन्द्र सरकारको अभ्यास लामो समयदेखि हुँदै आए पनि संघीयता कार्यान्वयनसँगै प्रदेश संरचना नयाँ रूपमा स्थापित भएको बताए। त्यसैले संघीयता सफल भयो वा भएन भन्ने मूल्यांकन गर्दा प्रदेशले गरेका काम र उपलब्धिलाई मुख्य आधार बनाउनुपर्ने उनको भनाइ थियो।
उनले प्रदेश संरचना स्थापना भएको नौ वर्षको अवधिमा हासिल भएका उपलब्धि र देखिएका कमजोरी दुवैको निष्पक्ष समीक्षा गर्नुपर्ने बताए। प्रदेशका कामको समग्र मूल्यांकन नगरी यसलाई खर्चिलो वा अनावश्यक संरचनाका रूपमा चित्रण गर्नु उचित नहुने उनले उल्लेख गरे।
**प्रदेशको चालु खर्च चार प्रतिशतभन्दा केही बढी**
प्रदेश संरचना खर्चिलो भएको भन्दै भइरहेको आलोचनाको खण्डन गर्दै मुख्यमन्त्री कार्कीले मुलुकको कुल चालु खर्चमा प्रदेशको हिस्सा चार प्रतिशतभन्दा केही बढी मात्रै रहेको बताए।
उनका अनुसार कुल चालु खर्चको ९५ प्रतिशतभन्दा बढी हिस्सा संघ र स्थानीय तहमा रहेको छ। यस्तो अवस्थामा प्रदेशलाई मात्रै खर्चिलो संरचनाका रूपमा प्रस्तुत गर्नु तथ्यसंगत नभएको उनको तर्क थियो।
मुख्यमन्त्री कार्कीले प्रदेशको प्रभावकारिता बढाउन अधिकार हस्तान्तरण, संघीय सरकारसँगको समन्वय र प्रदेशले गरेका कामको निष्पक्ष मूल्यांकन आवश्यक रहेको बताए।
अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा संघीयताको कार्यान्वयन, प्रदेशका अधिकार, तहगत सरकारबीचको समन्वय र साझा विकासका विषयमा छलफल भइरहेको छ।
