काठमाडौँ । दुई धारमा विभाजित नेपाली कांग्रेसलाई एकताबद्ध बनाउन निर्णायक पहल हुने अपेक्षा गरिए पनि पार्टी सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवाबीच अझै भेटवार्ता हुन सकेको छैन। साउन २८ गते हङकङबाट स्वदेश फर्किएका पूर्वसभापति देउवासँग भेट्न सभापति थापाले लगातार प्रयास गरे पनि समय पाउन नसकेका हुन्।
सभापति थापाको सचिवालयका अनुसार उनी गत बिहीबारदेखि नै देउवालाई भेटել उपयुक्त समय मिलाइदिन आग्रह गर्दै आएका छन्। देउवाका स्वकीय सचिव भानुमार्फत भेटका लागि समय मागिए पनि आइतबारसम्म पनि समय उपलब्ध भएको छैन।
यस विषयमा देउवालाई भेट्न पुगेका नेताहरूले चासो राख्दा उनले छिट्टै भेट्ने प्रतिक्रिया दिएका छन्। कांग्रेसभित्र भने देउवा सर्वोच्च अदालतमा विचाराधीन रहेको पुनरावलोकन मुद्दाको फैसलाको प्रतीक्षा गर्ने मनस्थितिमा रहेकाले तत्काल संवादमा अनिच्छुक देखिएको चर्चा छ। पार्टीभित्रका नेताहरूले भने देउवालाई अभिभावकीय भूमिका निर्वाह गर्दै संवादमार्फत पार्टीको आन्तरिक विवाद अन्त्य गर्न आग्रह गर्दै आएका छन्।
