काठमाडौं । नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यता वितरण, नवीकरण र अद्यावधिक कार्य २०८३ जेठ २१ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्न निर्देशन दिएको छ ।
महामन्त्री एवं संयोजक प्रदीप पौडेलको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकले क्रियाशील सदस्यताको अभिलेखीकरणलाई डिजिटल प्रणालीमार्फत बलियो बनाउँदै पार्टीलाई आधुनिक सदस्य नेटवर्कयुक्त संगठनका रूपमा विकास गर्ने उद्देश्य लिएको जनाएको छ ।
यसका लागि नेपाली कांग्रेसले प्रत्येक क्रियाशील सदस्यलाई आफ्नै मोबाइलबाट अनलाइन फारम भरेर सदस्यता अद्यावधिक गर्न सक्ने व्यवस्था गरेको छ । पार्टीको सदस्यता पोर्टलमा ‘स्वयं सदस्यता आवेदन फारम’ उपलब्ध गराइएको छ ।
अनलाइन प्रक्रिया क्रममा समस्या भएमा ९७०१२५५५५५ नम्बरमा सम्पर्क गरी एआई सहायकमार्फत सहयोग लिन सकिने व्यवस्था गरिएको छ । साथै, केन्द्रीय कार्यालयको डिजिटल सहायता केन्द्रका ९७१२०५६३५१ र ९७१२०५६३५२ नम्बरमा सम्पर्क गरेर पनि सहायता प्राप्त गर्न सकिने जनाइएको छ ।
त्यसैगरी, विदेशमा रहेका नेपाली जनसम्पर्क समितिका सदस्यहरूका लागि पनि ‘स्वयं सदस्यता आवेदन फारम’ उपलब्ध गराइएको छ ।
सदस्यता अद्यावधिक नगर्ने तथा कांग्रेस परिचयपत्र (NC ID) प्राप्त नगर्ने व्यक्तिले १५ औँ महाधिवेशन प्रक्रियामा सहभागी हुन नपाउने विधानअनुसार तोकिएको समयमै प्रक्रिया पूरा गर्न सबै तहका निकायलाई समितिले निर्देशन दिएको छ ।
