फायल फोटो
काठमाडौं । नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत हुने तल्लो तहका अधिवेशनहरूको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ।
रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि उत्पन्न प्रतिकूल परिस्थितिका कारण यसअघि भदौ २४ गतेका लागि तय गरिएको गाउँ/नगर वडा अधिवेशन स्थगित गर्दै कांग्रेस केन्द्रीय निर्वाचन समितिले नयाँ कार्यतालिका सार्वजनिक गरेको हो।
नयाँ कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन असोज ३ र ४ गते हुनेछ। यस्तै, गाउँ/नगरपालिका अधिवेशन असोज ७ गते तथा प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते गर्ने तय गरिएको छ।
कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन भने पूर्वनिर्धारित मितिअनुसार असोज १६ देखि १९ गतेसम्म नै हुने केन्द्रीय निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए।
बाढीबाट बढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा खटिएका निर्वाचन अधिकृत तथा पार्टीका स्थानीय निकायसँगको समन्वयमा अधिवेशन सम्पन्न गरिने निर्वाचन समितिले जनाएको छ।
त्यस्तै, विदेशस्थित बाँकी नेपाली जनसम्पर्क समितिका अधिवेशनहरू असोज १० गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
निर्वाचन समिति संयोजक खड्काद्वारा जारी विज्ञप्तिअनुसार जिल्ला र प्रदेश अधिवेशनको कार्यतालिका भने दोस्रो चरणमा सार्वजनिक गरिनेछ।
